हेटौंडा – नेपाल निवृत्त शिक्षक समाज मकवानपुर तथा शकुन्तला ढुंगेल स्मृति कोषको संयुक्त आयोजनामा शनिवार हेटौंडामा निवृत्त शिक्षकका लागि संस्मरण तथा यात्रासंस्मरण लेखन कार्यशाला भएको छ ।
यात्रासंस्मरणकार रमेशमोहन अधिकारीले सहजीकरण गरेको कार्यक्रममा मूलतः हेटौंडा, मकवानपुरगढी, बकैया तथा बागमती पालिकाका १९ जनाको सहभागिता रहेको थियो । स्वदेशको यात्रासंस्मरण लेख्ने सहभागीले गोसाईँकुण्ड, मनाङ, इलाम, पाथीभरा, बुटवल, पोखरा, गोरखाको र विदेशयात्राका बारेमा लेख्ने सहभागीले भारत, जापान तथा अस्ट्रेलिया यात्राका बारेमा लेखेका छन् ।
केही सहभागीले भने संस्मरण मात्र लेखेका छन् । उद्घाटन, सहजीकरण, लेखन तथा समापन गरी चार चरणमा सम्पन्न कार्यक्रमको सञ्चालन कवि चेतप्रसाद पौडेलले, स्वागत सुभद्रा लामिछानेले, सभाध्यक्षता नेपाल निवृत्त शिक्षक समाज मकवानपुरका अध्यक्ष सीताराम दाहालले गरेका थिए । जिल्ला समन्वय समिति मकवानपुरका सदस्य खड्गबहादुर पुलामीले कार्यक्रम रचनात्मक र प्रभावकारी भएको बताए ।
कार्यशालामा सहभागी हुने निबृत्त शिक्षकलाई प्रबेश शुल्क एक सय रुपैयाँ लिइएको थियो । सहजकर्ता अधिकारीको हालै प्रकाशन भएको नियात्रा संगह सहभागीलाई उपहारस्वरुप प्रदान गरिएको थियो । कवि जनार्दन खनालले तत्काल रचित यात्राकविता सुनाएका थिए भने कार्यक्रमको प्रमुख आतिथ्यता सेवानिबृत्त शिक्षक समाजका केन्द्रीय सचिव अभिमन्यु गौतमले गरेका थिए । कार्यक्रम सिद्धार्थ माविको सभाकक्षमा भएको थियो ।