हेटौंडा – पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित खरङगामा बसको ठक्करबाट एक बस यात्रुको मृत्यु भएको छ ।
झापाबाट पोखरातर्फ जाँदै गरेको लु २ ख ४६०७ नम्बरको यात्रुवाहक बसले काकडभिट्टाबाट स्याङजातर्फ जाँदै गरेको ना ५ ख ६१०३ नम्बरको बसको यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा भोजपुर नगरपालिका–७ कोदार बस्ने ४५ वर्षीया सिता मिजार रहेको मकवानपुरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । उनका अनुसार बसको यात्रु चिया पिउन रोकेको अवस्थामा बाटो क्रस गर्ने क्रममा आज (बुधबार) बिहान ४ बजे बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट मिजारको टाउकोमा गम्भीर चोट लागेकोमा उपचारको क्रममा विहान ७ः३० बजे हेटौंडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको प्रवक्ता कार्कीले बताए । ठक्कर दिने बसका चालक बुटवल उपमहानगरपालिका–११ बस्ने ४० वर्षीय सिम बहादुर पल्ली मगर नियन्त्रणमा रहेको उनले बताए ।