प्रहर खबर
 २०७९ मंसिर १६, शुक्रबार    

खानेपानीको पाइपहरु चोरी गर्ने चार जना पक्राउ

२०७९ आश्विन १०, सोमबार २१:०४ बजे

हेटौंडा – खानेपानी संस्थानको पाइपहरु चोरी गर्ने चार जना पक्राउ परेका छन् । कास्की मादी गाँउपालिका–७ काउरेडाँडास्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानको पाइपहरु चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–७ थाक बस्ने ३५ वर्षीय रमेश गुरुङ, २६ वर्षीय निरज तामाङ, सोही गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका–१० बस्ने ३४ वर्षीय खरजंग गुरुङ र लम्जुङ मध्यनेपाल नगरपालिका–८ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका–१३ कसेरी बस्ने २३ वर्षीय रिदम भन्ने सुनिल परियार रहेका छन् ।

असोज ५ गते बिहान खानेपानी संस्थानको पाइपहरू चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले ग.१ त ५१३७ नम्बरको ट्याक्टरमा उक्त पाइपहरू लोड गरी मादी गाउँपालिका–५ तर्फ ल्याउँदै गरेको अवस्थामा फेला पारी उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू उपर कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा दिन ६ म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।