प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

२०८१ पौष २९, सोमबार ०८:२६ बजे

काठमाडौ – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर र नेपाली कांग्रेसका नेता चुङ्बा शेर्पाको ६४ वर्षको उमेरमा निधन भएको छ। आइतबार राति १२स्१५ बजे काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरेका छन्।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी घर भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि अस्पतालमा भर्ना थिए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो, तर स्वास्थ्यमा सुधार नआएपछि निधन भएको हो।

चुङ्बा शेर्पा लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध थिए। उनी नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति थिए। यसअघि उनले चौँरीखर्क गाविसको अध्यक्षका रूपमा पनि सेवा गरेका थिए।

पछिल्ला वर्षहरूमा शेर्पा वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय थिए। उनले फोटोग्राफीमार्फत नेपालको जैविक विविधता र प्राकृतिक सौन्दर्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेका थिए।

उनका दुई छोरा र तीन छोरी छन्। शेर्पाको निधनले नेपाली फोटोग्राफी, राजनीति, र पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको छ। विभिन्न संघ–संस्थाले उनको योगदानलाई सम्झँदै श्रद्धाञ्जली व्यक्त गरेका छन्।