प्रहर खबर
 २०८० मंसिर २५, सोमबार    

बझाङमा १५ घण्टामा १२ भूकम्प, कुन समयमा कति रेक्टर स्केल ?(विवरणसहित)

२०८० आश्विन १७, बुधबार १३:२५ बजे

काठमाडौँ – बझाङको विभिन्न ठाउँ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार ८ पटक र आज बुधबार विहान ५ बजेर ४३ मिनेटसम्म ४ पटक भूकम्प गएको हो ।

बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर मङ्गलबारदेखि आज बिहानसम्म चार रेक्टर स्केलभन्दा माथिका १२ भूकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले उल्लेख गरेको छ । करिब १५ घण्टा ३ मिनेटको अवधिमा  १२ पटक भूकम्प गएको हो । 

मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । आज बिहान ५ः४३ बजे चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापनले जनाएको छ । बुधबार बिहान ५ः४३ बजेपछि १ बज्दासम्म भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा रेकर्डमा उल्लेख छैन । 

केन्द्रका भूगर्भविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जानसक्ने बताउछन् । “विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो ठाउँमा उक्त क्षेत्रमा भूकम्प जान थालेको छ”, उनले भने । उनले सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन पराकम्पन आउने बताए ।

बझाङमा १५ घण्टा ३ मिनेटमा गएको भूकम्पको रेकर्ड, कुन समयमा कति रेक्टर स्केलको भूकम्प गयो ?