प्रहर खबर
 २०८१ बैशाख ३०, आईतबार    

वेस्ट इन्डिजका दुई खेलाडीको शतक, नेपाललाई विशाल लक्ष्य

२०८० असार ७, बिहीबार ११:०७ बजे

काठमाडौं – जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनको विशाल लक्ष्य दिएको छ । हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनाएको हो।

वेस्ट इन्डिजका कप्तान शाई होप र निकोलस पुरनले शतकीय ईनिङ खेले । कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्काको सहयोगमा १ सय ३२ रन बनाए । उनी ललित नारायण राजवंशीको बलमा आउट भए ।

त्यस्तै पुरन ९४ बलमा १० चौका र ४ छक्काको सहयोगमा १ सय १५ रन बनाउँदै दीपेन्द्रसिंह ऐरीको बलमा आउट भए । ब्रान्डन किंगले ४२ बलमा २ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए । रोभमन पावलले १४ बलमा २९ रन बनाएर आउट भए ।

नेपालका लागि ललितनारायण राजवंशीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र गुलसन झाले समान १र१ विकेट लिए ।