हेटौंडा – साहित्य संगम मकवानपुरले ‘लघुकथा उत्सव–२०८१’ मा स्रष्टा सम्मान तथा लघुकथावाचन गरेको छ । शनिबार क्लव हेटौंडामा स्रष्टा सम्मान, बहस तथा लघुकथावाचन गरिएको हो । साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा आयोजित कार्यक्रम संगमका सचिव मनोज पोखरेलले सहजीकरण गरेका थिए ।
मकवानपुरको सबैभन्दा जेठो साहित्यिक संस्था संगमले कथा, कविता, गजल, मुक्तकलगायत साहित्यिक विधाको विधागत कार्यशाला, लेखन, वाचन, स्रष्टा सम्मानलगायत कार्यक्रम गर्दै आइरहेको संगम उपाध्यक्ष सानु खनालले बताए ।
कार्यक्रममा लघुकथा चौतारी मकवानपुरका संयोजक किशन पौडेलले आगामी दिनमा लघुकथा लेखनमा चौतारीसँग सहकार्य गर्दै अघि बढ्ने अपेक्षा राखे । यस्तै संगमका सल्लाहकार तुलसी घिमिरेले संगमको स्थापनामा साहित्यिक क्षेत्रमा स्थापित स्रष्टाहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।
सम्मानित स्रष्टाद्वय शार्दूल भट्टराई र डा. दामोदर पुडासैनी ‘किशोर’ का बारेमा संगमका सल्लाहकार सुवास खनालले परिचय राखेका थिए । जनसेवाश्री, पारिजात स्मृति सम्मान, महाकवि देवकोटा राष्ट्रिय सम्मान २०७९ आदिबाट सम्मानित भट्टराईलाई संगमद्वारा २० हजार राशिको ‘गोपालप्रसाद स्मृति सम्मान २०८१’ बाट सम्मानित गरिएको हो । साहित्य संगम मकवानपुरका ३ कार्यकाल सचिव रहेका डा.केशव श्रेष्ठ ज्योतिद्वारा स्थापित २५ हजार राशिको ‘साहित्य संगम मकवानपुर सम्मान २०८०’ द्वारा सम्मानित डा. पुडासैनी ‘किशोर’ का ‘डोल्पो ओ डोल्पो’ कृतिमार्फत् सम्मानका लागि छनोट भएको संगमले जनाएको छ ।
डा. पुडासैनीले यो कृतिलेखनका लागि डोल्पा जिल्लामा २ महिना बसाई गरेको र त्यहाँको कला, भाषा, संस्कृति र सामाजिक रीतिरिवाजबारे अध्ययन गरेर लेखिएको बताए । नमेटिएका चिठीहरु र गृष्मको नीलो बतास, मदन पुरस्कारका उत्कृष्ट कृतिको सूचीमा सूचिकृत पुडासैनीद्वारा लिखित कृतिहरु हुन् । डा. पुडासैनी लेखापरीक्षणमा नेपालको पहिलो विद्यावारिधि हुन् ।
डा. केशव श्रेष्ठ ‘ज्योति’ ले साहित्यिक संस्थामा युवालाई नेतृत्व हस्तान्तरण गर्दै जानुपर्ने र सोहीअनुसारको सिकाइरहनु पर्ने बताउँदै साहित्यिक संस्थामा विभिन्न विचारका सर्जकहरुको सहभागिता हुन सक्ने तर, त्यसले संस्थालाई भने राजनीतिबाट भिन्न राख्नुपर्ने धारणा राखे । उनले उपस्थित सबैका अतिथि र दर्शक÷स्रोताका लागि २÷२ थान पुस्तक उपहार प्रदान गरेका थिए ।
हेटौंडा उपमहानगरको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा उपमहानगरका उपप्रमुख राजेश बानियाँले स्थानीय सरकारले साहित्य, कलालगायतको क्षेत्रमा सक्दो सहयोग गर्ने र आगामी समयमा त्यसलाई अझ धेरै बढावा गर्दै लैजाने बताए । विगतमा वडाअध्यक्षका रुपमा रहँदा स्ल्याव ढलान मात्रै विकास हो भन्ने भ्रम आफूमा रहेको र हाल त्यसमा परिवर्तन भएको उपप्रमुख बानियाँले बताए । समाजले समेत त्यो सोचभन्दा माथि उठेर शिक्षा, साहित्य तथा कलाको विकास अझ दीगो विकास हो भन्नेतर्फ सकारात्मक भएर सोच्नुपर्ने सुझाव उनको थियो ।
‘लघुकथाः सिद्दान्त र बाटो’ शीर्षकमा लघुकथाका संरचना तथा समीक्षालगायतका विषयमा बहस आयोजना गरिएको थियो । बहसमा लघुकथाकारत्रय चितवनका टीकाराम रेग्मी, नुवाकोटका दीपक लोहनी र काठमाडौंकी सुमन वर्षा सहभागी थिए । साहित्यकार एसके निधन सहजकर्ता रहेको बहस सत्रको अभिभावकत्व साहित्य संगमका सल्लाहकार तुलसी घिमिरेले गरेका थिए । बहसका क्रममा लघुकथाकार रेग्मीले लघुकथाको सुरुवात, मध्य र विचारको प्रयोग तथा यसको अन्त्यका तौरतरिकाबारे बताए ।
लघुकथावाचनमा मकवानपुरका किशन पौडेल, रमेशमोहन अधिकारी, रामकुमार विष्ट ‘विष्ट अंकल’, श्याम श्रेष्ठ, मिथिला अधिकारी, चितवनकी स्रष्टा रचना शर्मा, बैतडीका धनदेव जोशी, प्युठानका हरि जिसी, काठमाडौंका स्रष्टाद्वय किसान प्रेमी र डा.केशव श्रेष्ठ ‘ज्योति’ ले लघुकथा सुनाए । यो सत्रलाई संगम कार्यसमिति सदस्य रजनी पौडेलले सहजीकरण गरेकी थिइन् । भीमविराग संगीत कला साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष केशवलाल श्रेष्ठको अभिभावकत्वमा सञ्चालित यस सत्रपश्चात् रचनावाचन गर्ने स्रष्टा, सबै सत्रमा सहजीकरण गर्ने सहजकर्तालाई धन्यवादपत्र प्रदान गरिएको थियो ।