प्रहर खबर
 २०८१ माघ २, बुधबार    

६४ वर्षको उमेरमा मेरापिक आरोहण गर्ने हेटौंडाका श्रेष्ठ सम्मानीत

२०८० आश्विन १३, शनिबार १९:५५ बजे

हेटौंडा – ६४ वर्षको उमेरमा ६४७० मिटर उचाईको मेरापिक सफल आरोहण गरेका हेटौंडा–६ का लक्ष्मीचरण श्रेष्ठलाई शनिबार सम्मानीत गरिएको छ । चौघडा बचत तथा ऋण सहकारी संस्थाले वार्षिक सधारणसभाको अवसरमा सम्मानीत गरेको हो । श्रेष्ठ नेपाल सरकारका सेवानिबृत्त कर्मचारी हुन् ।

चौघडा बचतका अध्यक्ष बिजयकुमार श्रेष्ठले दोसल्ला, सम्मानपत्र तथा मायाको चिनो उपहार प्रदान गरेका थिए । २०८० जेठ २१ गते श्रेष्ठसहित ५ जनाको टोलीले सोलुखुम्बुको मेरापिक सफल आरोहण गरेका थिए । श्रेष्ठसँग कैलाश गाउँपालिकाका सुरेन्द्र भण्डारी पनि साथमा थिए । भण्डारी कामना सेवा विकास बैंकको सुदुरपश्चिम प्रदेश ईन्चार्जको रुपमा कार्यरत छन् ।



हेटौंडाबाट हिडेको ५ औं दिनमा मेरापिक सफल आरोहण गरिएको श्रेष्ठले बताए । १० दिनमा घर फर्केको टोलीमा चितवनका एक जना काठमाडौंका २ जना र मकवानपुरका २ जना सहभागी थिए । बिना अक्सिजन ६४७० मिटर अग्लो हिमाल आरोहण गर्ने त्यो पनि ६४ वर्षको उमेरमा यो सामान्य कुरा थिएन । सामान्यतया ४५०० मिटर भन्दा माथि अक्सिजनको मात्र ज्यादै कम हुने भएकोले पदयात्रा कठिन हुने गर्दछ ।

पदमार्गका लागि संसारकै आकर्षक गन्तव्यको सूचीमा रहेको सोलुखुम्बुको मेरापिक आरोहण गर्न नेपाली पदयात्री पनि प्रशस्तै जाने गरेका छन् । मेरापिक हिमाल क्षेत्रलाई समेटेर सरकारले मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गर्ने तयारी गरेको छ । स्थानीयको माग अनुसार सरकारले मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गर्न लागेको बताइएको छ ।