हेटौंडा – निर्माणको क्रममा अवरोध नआए एशियाकै पहिलो भनिएको बारा र मकवानपुरको सीमा स्थल चुरियामाई सुरुङ मार्गको पुनर्निर्माण यही माघ महिनाभित्रमा सकिने भएको छ ।
यातायात निर्देशनालय बागमती प्रदेशका इन्जिनियर बिजय केसीका अनुसार अब उक्त सुरुङ पाँच मिटर मात्रै खन्न बाँकी रहेको छ । मुख्य काम आउटलेट(बाहिरिने) पोर्टलको प्वाईन्ट पत्ता लगाएर रि–कन्ट्रक्सनको काम सम्पन्न भएको इन्जिनियर केसीले बताए ।
‘ब्रेक थ्रु गर्न पाँच मिटर मात्रै बाँकी छ, त्यसमा चारदेखि पाँच वटा रिप हालेपछि ब्रेक थ्रु हुन्छ,’ इन्जिनियर केसीले भने । त्यसपछि सामान्य काम अलिअलि सर्किट र स्ट्रेनिङ्गको काम मात्रै बाँकी रहने उलने बताए ।
सुरुङ बागमती प्रदेश सरकारको ३ करोड ३९ लाखमा पुनः निर्माण भएको हो । माउन्टेन इन्फ्रा कम्पनीले जिम्मा पाएको यो सुरुङ मार्ग पुनर्निर्माणको शिलान्यास तत्कालिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका थिए ।
यो सुरुङ तत्कालिन प्रधामन्त्री चन्द्र शम्शेर राणाको पालामा निर्माण भएको थियो । तत्कालिन नेपाली सेनाका कर्णेल इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वको इन्जिनियरिङहरुको टोलीले सुरुङ बनाईएको थियो ।
मघेश प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने सुरुङ मार्र्गबाट वि.सं. २०२० सम्म सवारी चल्ने गरेका थियो । राणाकालीन समयमा यही सुरुङ मार्ग हुँदै चल्ने गाडीले भीमफेदीसम्म समान ओसाथ्र्यो ।
कस्तो थियो सुरुङ, कस्तो बन्दैछ ?
चुरिया सुरुङ सन् १९१७ मै बनेको थियो । सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाको डिजाइन अनुसार ५ सय मिटर लम्बाइको सुरुङ मार्ग बनेको थियो । सुरुङ २ दशमलव ५ मिटर चौडा र ३ मिटर अग्लो थियो ।
डिपिआर अनुसार पुनर्निर्माणसम्पन्न हुँदा सुरुङ मार्गको आकार खुम्चिने इन्जिनियर केसी बताउँछन् । उनका अनुसार सुरुङको उचाई २ दशमलव ९ मिटर र चौडाई २ दशमलव ४ मिटर हुनेछ ।
स्वीस भूगर्भविद टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’मा यो सुरुङ मार्गबारे चर्चा समेत गरेका छन् । उनैले यसलाई ‘एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुन सक्ने’ बताएका हुन् ।
जीर्ण अवस्थामा रहेको यो सुरुङ मार्ग भूकम्पपछि थप जीर्ण बन्न पुगेको थियो । सर्वसाधरणलाई सुरुङ प्रवेशमा रोक लगाईएको थियो । पुनः निर्माणपछि मानिससंगै स–साना सवारी सुरुङमा चलाउन सकिने इन्जिनियर केसी बताउँछन् ।
हेर्नुहोस भिडियोमा एशियाकै पहिलो सुरुङ मार्ग