काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । रविले प्रधानमन्त्री दाहाललाई भेटेर भ्रष्टाचारविरूद्धको लडाइँमा दह्रोसँग खुट्टा टेक्न आग्रह गरेका छन्।
प्रधानमन्त्री प्रचण्डसँग सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान भएको भेटमा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानप्रति खुसी व्यक्त गरेका हुन्। नक्कली शरणार्थी प्रकरणबारे भइरहेको अनुसन्धानप्रति प्रधानमन्त्रीलाई धन्यवाद दिएको बताए।
रास्वपाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। प्रधानमन्त्रीलाई सरकार ढल्ला भनेर भ्रष्टाचारका फाइल खोल्न नडराउन सुझाव दिएको लामिछानेको भनाइ छ।