प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हेटौंडामा कार्यपालिका निर्वाचन सम्पन्न, एमालेको एक्कल बहुमत

२०७९ जेठ १५, आईतबार १४:३० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा नगर कार्यपालिका सदस्यमा नेकपा एमालेका ८ जना उम्मेदवार विजयी हुँदा गठबन्धनको उम्मेदवारहरु पराजित भएका छन् । यससंगै हेटौंडा उपमहानगरको कार्यपालिकाले पूर्णता पाएको छ ।

दलित तथा अल्पसंख्यक तर्फ नेकपा एमालेका विरबहादुर विश्वकर्मा, शंकर राई र अर्जुनबहादुर राई विजयी भएका छन् । पाँच दलीय गठवन्धनबाट नेकपा एकीकृत समाजवादीकी कल्पाना विश्वकर्मा, नेपाली कांग्रेसका धनराज प्रजा र नेकपा माओवादी केन्द्रका राम बहादुर नेपाली पराजित भए ।

त्यस्तै महिला तर्फ नेकपा एमालेबाट पातली माया गोङबा, इश्वरी बिश्वकर्मा, रुकमिणी स्याङतान, मंजु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित भएका छन् । पाँच दलीय गठवन्धनबाट नेकपा एसकी कमला पौडेल, सुनिता परियार र कांग्रेसकी रन्जु गोम्जा, सन्तुमाया पाख्रीन सविना विडारी पराजित भए ।

निर्वाचनमा नगरसभाको कुल ९७ मतमा विजयी भएका एमालेका उम्मेदवारहरुले समान ५०–५० मत प्राप्त गर्दा पराजित गठबन्धनका उम्मेदवारले ४७–४७  मत पाए ।

नगरसभामा सबैभन्दा ठुलो दल बनेको एमाले नगर कार्यपालिकामा पनि एमालेको एक्कल बहुमत पुगेको छ । २९ सदस्यीय कार्यपालिकामा एमालेको १७, कांग्रेसको ९ र नेकपा एसको दुई र माओवादीका एक छन् ।

गत स्थानीय चुनावको तुलनामा हालैसम्पन्न निर्वाचनमा हेटौंडामा एमालेलाई ठुलो क्षति भएको छ । एमालेले ९ वडामा मात्रै सिमित भएन, मेयर, उपमेयर सहित थप ३ वडा वडा गुमाउन पुगेको थियो । मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवारीकी मिना कुमारी लामाले जितिन् । उमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँले जिते । उनिहरुले एमालेको ३० बर्षदेखिको लामो विरासत समेत भत्काएका थिए । त्यस्तै उपमेयर सहित कांग्रेसले ८ वडा जित्दा मेयर सहित नेकपा एसले एक वडा र माओवादीले एक वडा जितेको थियो ।