प्रहर खबर
 २०८१ बैशाख १८, मंगलबार    

चौथो हेटौंडा मेयर कपः उपाधिका लागि वडा नम्बर ४ र १४ भिड्ने

२०८१ बैशाख ४, मंगलबार २०:२१ बजे

हेटौंडा – चौथो हेटौंडा उपमहानगरपालिका वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ४ र १४ भिड्ने भएका छन् ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १४ ले वडा नम्बर १५ लाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

निधारित ९० मिनेटको खेलमा दुबै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो । पेनाल्टी सुटआउटमा वडा नम्बर १४ भाग्यमानी सावित हुँदै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो ।

त्यस्तै पिप्लेक्याम्पा रंगशालामा आजै भएको प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा सडनडेथमा वडा नम्बर ४ ले वडा नम्बर १३ लाई ५–४ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

९० मिनेटको खेलमा दुबै टोलीले २–२ गोलको बराबरी खेलेको थियो । त्यसपछि भएको पेनाल्टी सुटआउटमा पनि ४–४ गोलको बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट लिइएको हो । जहाँ वडा नम्बर ४ ले बाजी मार्यो ।

वडा नम्बर ४ र १४ बीच उपाधि भिड्न्तको फाइनल खेल भोली बुधबार दिउँसो २ बजेबाट सुरु हुने छ भने तेस्रो स्थानका लागि वडा नम्बर १३ र १५ बीचको खेल भोली बिहान ७ बजे हुने छ ।

प्रतियोगिताको विजेता, उपविजेता, तेस्रो र चौथो हुने टोलीले क्रमशः नगद २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरेले जानकारी दिए । उनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी १० हजार रुपैयाँ नगदसहित सम्मानित गरिने बताए ।

प्रतियोगितामा विधागतरुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद ५र५ हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष घिमिरेले जानकारी दिए । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको मेयर कप फुटबल प्रतियोगितामा नगरको १९ वटा वडाको सहभागिता रहेको थियो ।