हेटौंडा – मकवानपुरका भेष खड्की बि.स.२०४२ सालमा बक्सिङबाट खेल क्षेत्रमा प्रवेश गरे । उनले करिब पाँच बर्ष बक्सिङ खेलबाट जिल्लाको प्रतिनिधित्व गर्दै देशको विभिन्न स्थानमा भएका प्रतियोगितामा सहभागी भए । मेडल पनि हात पारे । खेलाडी भएर भोग्नु परेको पीडालाई महसुस गर्दै उनी वि.सं.२०४६ सालपछि खेलाडी जीवन त्यागे । त्यसपछि उनी बक्सिङ संघमा आवद्ध भए । त्यतिबेला जिल्ला, राष्ट्रियस्तरको बक्सिङ प्रतियोगिता हुँदा, मकवापुरका खेलाडीहरुले लगातार गोल्ड मेडल जित्दा उनी धन्यवादको पात्र मध्ये एक थिए ।
उनी एक कार्यकाल सदस्य, दुई कार्यकाल कोषाध्यक्ष र केन्द्रीय सदस्य समेत भएर काम गरे । बक्सिङ मात्रै होइन्, मकवानपुरमा जुन किसिमको फुटबलको माहोल थियो, त्यो भित्र्याउन खड्कीको महत्वपूर्ण भूमिका छ । वि.सं.२०६४ देखि हेटौंडामा सुस्ताएको फुटबल खेलको माहोल २०७२ सालमा उनकै नेतृत्वमा “सुमन भोम्जन स्मृति हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप” आयोजना भएपछि फर्कियो । वि.सं.२०७२ बैशाख १२ गते आएको विनाशकारी भुकम्पमा ज्यान गुमाएका खेलकुद पत्रकार सुमन भोञ्जनको स्मृतिमा आयोजना गरिएको उक्त प्रतियोगिता लगातार तीन संस्करण हुँदा हेटौंडालाई फुटबलको माहोलले ततायो ।
खड्कीको खेलकुदप्रतिको लगनशिलता र मायाले पुनः जन्मिएको हेटौंडाको फुटबलको माहोल देखेपछि करिक ११ बर्षअघि सुरु भएर अन्त्य भएको राष्ट्रिय फुटबल प्रतियोगिताले पुर्नजीवन पायो । जुन वि.सं.२०६४ सालमा २०६२/०६३ को जनआन्दोलमा सहिद भएकाहरुको सम्झनामा आयोजना भएको थियो । उक्त प्रतियोगिता स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको नामले २०७५ सालदेखि निरन्तर आयोजना हुँदै आएको छ । खेलाडी जीवन थोरै, खेल र खेलाडीको विकासमा करिब ४ दशक बिताएका भेष खड्की खेलकुद विकास समिति मकवानपुरको हाल अध्यक्ष पदमा छन् । उनीसंग खेलकूद क्षेत्रको बिषयमा गरिएको कुराकानीको सम्पादित अंश:
प्रश्न. खेलकूद विकास समितिको अध्यक्षमा दुई बर्षदेखि कार्यरत हुनुहुन्छ । के–के काम गर्नु भयो ? अनि आगामी योजना के–के छन् ?
उत्तरः– खेलकुद गतिविधि सञ्चालन गर्न आर्थिक स्रोत हुनुपर्छ । स्रोत जुटाएर जहाँ–जहाँ खेलाडीको प्रशिक्षण भइरहेको त्यहाँ पुगेर खेलकुद सामाग्री वितरण गर्दै आएको छौँ । जतिबेला प्रतियोगिता आयोजना हुन्छ । त्यसको केही महिना अगाडि खेलाडीलाई खान बस्न सुविधा दिएर बन्द प्रशिक्षण गर्ने गरेका छौँ । त्यसको रिजल्ट पनि राम्रो आएको छ । बागमती प्रदेश खेलकुदको पहिलो संस्करणमा १०/११ वटा गोल्ड मेडल ल्याइएको थियो भने दोश्रोमा १७ वटा गोल्ड मेडल ल्याउन सफल भएका थियौं । त्यति बेला पाँच दिनको क्याम्प गरेका थियौं । हामीले ३५ लाखको कोष बनाउने योजना बनाएका छौँ । त्यो योजना अन्तर्गत हेटौंडा उपमहानरले ११ लाख रुपैँया छुट्याएको छ । त्यो बजेटबाट प्रतियोगिताको तयारीका लागि १५ दिनको क्याम्प गछौँ । राष्ट्रिय खेलकुदमा प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार, तेस्रोलाई १० हजार दिने जिल्ला खेलकुद बिकास समितिले दिने घोषणा गरेको छ । त्यस्तै प्रदेशमा स्वर्ण, रजत र कास्य जित्ने खेलाडीलाई क्रमशः १०, ७ र ५ हजार, राष्ट्रिपति रनिङ्गशिल्ड प्रतियोगितामा स्वर्ण, रजत र कास्य जित्ने प्रत्येक खेलाडीलाई क्रमशः ७ हजार, ५ हजार र ४ हजार रुपैँया दिने घोषणा गरेका छौँ ।
आर्थिक स्रोत जुटाउन अब आउने पुषमा खेलकुद महोत्सव गराउँदैछौँ । महोत्सव गर्दा हामीले जोसंग सम्झौता गरेका छौँ ,उसले २५ लाख रुपैँया दिने स.झौता भइ नै सकेको छ । त्यही रकमबाट पाँच लाखको खेलकुद गतिविधि गर्ने सोचाईमा छौं । बीस लाख कोषमा जम्मा हुन्छ । त्यही कोषबाट खेलकुद सामाग्री वितरण, बन्द प्रशिक्षण, खेलाडी सम्मान लगायतमा रकम खर्च गछौँ । जस्तैः प्रतियोगिता खेल्न जाने बेला भाडा नहुनेलाई भाडा, पोशाक नभएकालाई पोशाक दिन्छौँ । जिल्ला खेलकुद बिकास समितिले गर्नु पर्ने गतिविधि गरिनै रहेको छ । सम्बन्धित खेलकुदको संघले पनि सकृय भएर गर्यो भने राम्रो हुन्छ । म आईकन खेलाडीहरुलाई राम्रो राहत पुगेको छ ।
प्रश्नः जिल्ला खेलकुद विकास समितिमा प्राप्त भएको बजेटको अवस्था कस्तो छ ? जुटेको बजेट प्रर्याप्त छ ?
उत्तरः– बजेट प्रर्याप्त जुटको छैन । जिल्लाको १० वटै स्थानीय तहका खेलाडी क्याम्पमा राख्न बजेट माग गरेका छौँ । अहिले हेटौंडा उपमहानरपालिकाले ६ लाख रुपैया हामीलाई अनुदान भनेर छुट्याएको छ । ५ लाख प्रदेश र राष्ट्रपति खेलुकदमा क्याम्पको लागि छुट्याएको छ । बजेट हाम्रो त्यति नै हो । प्रदेशले खेलकुद गतिविधि गर्नका लागि सामान छुट्याई दिएको छ । अरु खेलाडीको भावना बुझ्ने, खेलाडीलाई माया गर्ने दर्शकहरुले नगद, दुध, फलफुल सहयोग गर्नु हुन्छ । त्यही पैसा बचाएर प्रशिक्षण गर्ने बेलामा खेलाडीलाई अण्डा, चना, दुध लगायतको पोषणको व्यवस्था गरेको छु । घाइते भएका खेलाडीहरुलाई उपचारको लागि खर्च उपलब्ध गराउँदै आईराखेको छु । जिल्ला खेलकुदमा नभएपनि व्यक्तिगत रुपमा पनि सहयोग गरिरहेको छु ।
प्रश्नः राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडीहरु विदेश पलायनले खेलाडी बन्न चाहाने बालकालिका र उनका अविभावकको मानसपटलमा खेलमा भबिष्य छैन भन्ने परेको छ । यस विषयमा जिल्ला खेलकुदले कस्तो योजना बनाएको छ ?
उत्तरः– खेलाडीलाई खेलमा भविष्य देखाउँन राष्ट्रले गर्न सकेन । तर, राष्ट्रिय खेलाडी हुनेलाई जिल्लामा १५ देखि २० लाखको जीवन बीमा गरेर उसको योग्यता अनुसार न्यूतम् ४० हजारदेखि माथि सरकारी जागिरको व्यवस्था गर्न सक्यो भने खेलाडी विदेशीन र खेलमा भविष्य देखाउन सकिन्छ । खेलखेल्दा अंगभंग भयो भने उपचार गराउन नसक्ने, खेल खेलेर परिवार पाल्न नसक्ने र खेलपछिको जीवनको सुरक्षाको ग्यारेन्टी नभएका कारण खेलाडीहरु पलायन भएका हुन् । यस्ता कुराहरुको ग्योरेन्टी सरकार लिए मात्रै पलायन रोकिन्छ भने खेलाडीको पनि भविष्य छ भन्ने सन्देश जान्छ ।
खेलमा भविष्य देखाउन र खेलाडी बन्ने आर्कषण वृद्धि गर्न खेलाडीको गुणस्तरमा सुधार गरे खेललाई व्यवसायिता र पर्यटनसंग जोड्नु पर्छ त्यो सकिदैन भने तीनै तहको सरकारमा हुने राजनीतिक नियुक्ति हुने स्थानमा दक्षता र क्षमताको आधारमा खेलाडीहरुलाई स्थान दिन सक्नुपर्छ । देशभर सरकारी तथा नीजि उद्योगहरु छन् । ऐन, कानुन बनाएर उनीहरुसंग सरकारले समन्वय गर्नुपर्छ । खेलकुद विकास समिति कानुन अनुसार कार्यसम्पादन, सहयोग र समन्वय गर्न तयार छ ।
राष्ट्रिय खेलाडी एउटा जिल्लामा १०/१२ जना हुन्छन् । उनीहरुलाई स्थानीय तहहरुले कर्मचारीको रुपमा राख्न सक्छन् । हेटौंडा धेरै वटा उद्योग कलकारखान र व्यवसायिक कम्पनीहरु छन् । राजनीति चलखेल गरेर मन्छे राख्न सक्ने, राष्ट्रिय खेलाडीहरुलाई राख्न नसक्ने भन्ने हुँदैन । त्यस्त स्थानमा राष्ट्रिय खेलाडी राखिदियो भने खेल क्षेत्रमा आर्कषण बढाउन सकिन्छ । यो मकवानपुर जिल्लाबाट सुरु गर्न सकिन्छ । म जिल्लाको १० वटा स्थानीय तहका प्रमुखलाई आग्रह पनि गर्न चाहान्छु ।
प्रश्नः जिल्ला खेलुकद विकास समिति विद्यालयहरुसंग जोडिन सकेन नि ? किन ?
उत्तरः– मैले स्कुल स्तरीय प्रतियोगता सञ्चालनको लागि स्थानीय तहमा प्रपोजल पेश गरेको थिए । त्यो खेल गरेपछि खेलाडी उत्पादन र पहिचानमा सहयोग हुन्छ भन्ने मैले बुझेको हो तर सबैले यो बिषयमा गम्भीरता नदेखाउदा रहिछन् । लगानी दिनेहरु प्रोत्साहन नगरेपछि मैले प्रतियोगिता गर्ने सक्ने अवस्था भएन । त्यो खर्च हुन्छ । मैले १२ बर्षदेखि १६ बर्षसम्मलाई १० वटा गेम अट्ने कार्यक्रम गर्ने, त्यहाँ उत्कृष्ट खेल प्रर्दशन गरेका खेलाडी छनोट गरेर व्यवस्थित गर्ने ,ती खेलाडीहरु पारिवारिकको स्थिति, रुचि, चाहान कस्तो छ ? सबै पक्ष बारे जानकारी लिएर राम्रो प्रशिक्षण दिने योजना थियो । बजेट नभएपछि अधुरो नै रह्यो । मेरो योजना भने जिल्लाका प्रत्येक स्कुलमा खेलकुद पुग्नु पर्छ भन्ने हो ।
प्रस्नः बर्षमा एक पटक हुने राष्ट्रपति खेलकुद प्रतियोगिता अभावै अभावको बोकेर खेलाडीहरु सहभागि हुन्छन् । यसरी मकवानपुरमा नयाँ खेलाडी जन्मिएला र ?
उत्तरः– राष्ट्रपति रनिङ्गशिल्ड बर्षमा एक पटक हुन्छ । स्कुल स्तरीय प्रतियोगिता बर्षको दुई पटक खेलकुद गतिबिधि गर्नुपर्छ । कतिपय संघसंस्था र कोचहरु सुतिरहेका छन्, यहाँ । प्रत्येक तीन/तीन महिनामा प्रत्येक खेलकुदको प्रशिक्षण गराउनु पर्यो । कुन प्रशिक्षकले कुन खेलाडी कसरी ? कति प्रशिक्षण दिएको छ निगरानी गर्नुपर्यो । त्यहाँबाट खेलाडी छनोट गरेर प्रतियोगिता खेलाउनु पर्छ । हामीले पाँच दिन क्याम्प राख्दा मकवानपुर तेस्रो भयो । त्यही कारण हामीले यस बर्ष १५ दिन क्याम्प राख्ने योजना बनाएका छौँ । यसो गर्दा उनीहरुको खेलमा ध्यान केन्द्रित गर्दछ ।
नगर र पालिकाले खेलकुदमा पैसा छुट्याएको हुन्छ । तर, वास्तविक खेलाडीहरुले पाएको हुँदैनन् । खेल्ने बेलामा पैसा नहुने, जर्सी नहुने अवस्था छ । विद्यालयहरुमा खेलकुद शीर्षकमा पैसा गएको छ तर खेलकुद शिक्षक छैनन् । सरोकारवाला निकायले चासो दिनु पर्यो नि । त्यो बिषयमा स्थानीय तहले हेर्न सक्दैनन् भने जिल्ला खेलकुदसंग समन्वय गर्न आवश्यक छ । स्थानीय तहले समन्वय र सहकार्य गरे भने लगानीको सदुपयोग हुन्छ । खेलाडी पनि राम्रो उत्पादन हुन्छ । यस बिषयमा प्रत्येक खेलकुद संघसंग मैले छलफल गरिरहेको छु । खुलकुदका विभिन्न संघहरुमा राजनीति चलखेल भइरहेको छ । त्यस्ता ब्यक्तिरुलाई संघमा नबस्न पनि निर्देशन दिएको छु ।
प्रश्नः मकवानपुरको १० वटै स्थानीय तहमा खेलकुद विकास समिति गठन गरेर लाखौँ र केही पालिकाले करोड भन्दामाथिको खेलकुद गतिबिधि सञ्चालन गरिरहदा जिल्ला खेलकुद विकास समितिलाई के कुराले रोक्यो ?
उत्तरः– मिडियाले जिल्ला खेलकुदमा के–के भयो, यहाँको गतिविधि, आर्थिक स्थिति लगायतको कुरा कस्तो छ भन्ने कुरा बुझ्न आवश्यक छ । पहिलो जिल्ला खेलकुदमा धेरै बजेट आउथ्यो । बजेटको अवस्था कति भयो, कति भएन मलाई थाहा भएन । अहिलेको बजेट जिरो हो । मैले कार्यभार लिएर दुई बर्ष भयो । राष्ट्रपति रनिङ्गशिल्डमा जिल्लाको १० गाउँपालिकाबाट खेलाडी छनोट भयो । काठमाडौं लैजाने बेलामा भाडा नभएर मैले व्यक्तिगत पैसा हालेर लैजानु पर्यो । त्यो स्थितिमा कार्यभार लिएर चलाएको संस्था आज मैले जति गतिविधि गरिराखेको छु, यसलाई नगरेको भन्न मिल्दैन ।
जिल्लाको १० मध्ये ३/४ वटा पालिकाले नाम मात्र होइन काम पनि गरिराखेका छन् । अरु नाम मात्रैका छन् । काम गरेका छैनन् । खेलकुदमा लगानी भएको सदुपयोग भयो कि भएन ? खेलाडीहरुले प्रशिक्षण गरेको छ कि छैन ? खेलाडी राम्रो बन्यो कि बनेन ? जिल्ला, प्रदेश, राष्ट्रियस्तरमा आफ्नो खेलाडीको सहभागिता र प्रर्दशनको अवस्था बारे जानकारी पालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षरुले गर्नुपर्छ । लगानी गरेर मात्रै हुँदैन, प्रभावकारी अनुगमन पनि हुनुपर्छ । सक्दैन भने, जिल्ला खेलकुदलाई पालिकाहरुले भन्नु पर्यो, पैसा हामी लगानी गछौं, तपाईहरु आएर अनुगमन गर्नु भनेको भए त्यो अनुगमन हामी गथ्र्यौ नि । के कारण हो ? त्यो वातावरण मिलेको छैन ।
पालिकाले नगरेपनि आफैले १० वटै पालिकाका खेलकुद विकास समितिको अध्यक्षसंग कुराकानी गरेको छु । जिल्ला बाहिर र देशबाहिरबाट आएका खेलाडीहरुलाई पैसा लगानी गर्ने आफ्नो पालिकाभित्र लगानी नगरेपछि कसरी खेलाडी बन्छ भन्ने हिसाबले पालिका अध्यक्षहरुसंग मैले फोनमा कुरा गरेको छु । सरदरमा एक पालिकाले बर्षमा न्यूनतम् १५ लाख रकम बाँड्छन्, जिल्लाको उत्कृष्ट २०० जना खेलाडीलाई प्रशिक्षण दिन ३ करोड लाग्ने रहिछ । एक बर्षमा तीन करोड रकम संकलन गरेर क्याम्पमा राखेर हेरौँ न कस्तो रिजल्ट आउँछ ? कुन संघको नतिजा कस्तो आउँछ ? कुन कोचले प्रशिक्षण दिएको खेलाडी कस्तो हुन्छ भनेर प्रष्ट भईहाल्छ नि । मैले यी कुराहरुको उठान बारम्वार गरेपनि सुनुवाइ नभएपछि मैले पो के गर्ने र ?
प्रश्नः जिल्लाको एउटा मात्र खेलको प्रतिनिधित्व गर्ने जिल्ला फुटबल संघले प्रर्याप्त बजेट पाउछ । तर, समग्र खेलकुदको प्रतिनिधित्व गर्ने खेलकुद विकास समितिले जिल्ला फुटबल संघले पाएको तुलना निकै कम बजेट पाएको छ । तपाईको सेटिङ्ग मिलेन कि पार्टी ?
उत्तरः– पहिला आफु सक्षम हुनुपर्यो । म जिल्ला खेलकुदमा छु । कुनै निकायले म १ करोड दिन्छु, २५ लाख तँ लिएर जा भन्दा खेरी मेरो इज्जत र संस्था दाउमा हुन्छ की हुँदैन ? त्यो बुझ्नु पर्यो । यहाँ २५ लाख खेलकुद कार्यक्रम गर्न भाग लगाउने होइन । तेरो भागमा यत्ति,मेरो भागमा यत्ति भनेर काम गर्ने होइन । मलाई पनि आउला, तपाई १० लाखको कार्यक्रम गर्नु मलाई ५ लाख दिनु भनेर , त्यो अध्यक्षको भूमिकामा हुनुपर्यो । संस्थाको भूमिकामा हुनुपर्यो । मेरो कार्यकालमा त्यस्तो गतिविधि आयो भने मेरो हैसियत कहाँ जाला ? समाजमा कसरी हिड्ने ? संस्थामा जसले दुरुपयोग गर्यो, अध्यक्षको नाम जोड्न्छि । हरेक संस्थाको अध्यक्ष आफ्नो कार्यसम्पादनमा चुक्नु भएन, अरुलाई चुक्न दिनु पनि भएन भन्ने मेरो स्पष्ट भनाइ नै हो ।
कुनै संस्थाले १४ लाख दिन्छु, ७ लाख मलाई दे भन्यो, भने चर्चामै आउनका लागि गर्नु भएन नि । बजेट थोरै आए, अरुलाई दोष दिने होइन । थोरै आए, थोरै काम गुर्न पर्यो, धेरै काम किन गर्नु पर्यो र ? चोर भन्दा चोरेको सामना खरिद गर्नेलाई सजायँ बढी हुन्छ भने जस्तै पैसा खाने(अनियमितता गर्ने) भन्दा पनि कार्यक्रम गर्न पैसामा कार्यक्रम गरेर फिर्ता गर्नेलाई सजाय बढी हुनुपर्छ । किन भने यस्तो कार्यले विकृति निकाल्यो । १५ लाखको कार्यक्रम ७ लाखमा गरेर ७ लाख फिर्ता गर्ने मेरो नेचर नभएको कारण मैले बजेट पाइन ।
अन्तमा म के भन्न चाहान्छु भने पत्रकार ज्यूहरु, केही तपाईको राम्रो काम भयो, केही नराम्रो काम भयो भन्नेहरु पनि हुनुहुन्छ । पत्रकारले राम्रो कुरालाई राम्रो, नराम्रो कुरालाई नराम्रो भनेर समाचार लेख्न सकेका छैनन् । यहाँ नराम्रोलाई नबोलिन हिड्दा खेरी आज कुनै संस्था बिग्रेको अवस्था छ, भोलिको दिनमा मैले नेतृत्व गरेका संस्था पनि बिग्रिन सक्छ । जे सुकै होस्, राम्रो काम गर्नेलाई प्रोत्साहन, गलत काम गर्नेलाई खबरदारी गर्न पर्यो । कसैले पैसा खर्च गर्यो भने समाचार र फोटो सबै आउने र खर्च गरेन भने आउँदै नआउने , घुमाएर जसले पैसा निकाल्छ उसले खर्च गर्छ । त्यो कुरा पनि बुझ्नु पर्यो । यस्तो परिपाटीको अन्त्य हुनुपर्दछ । हाम्रा गतिबिधिहरु तपाइको पाठक समक्ष पुर्याइदिनु भएकोमा तपाइ र तपाइको संचारमाध्यमलाई धन्यवाद ।