प्रहर खबर
 २०८० मंसिर २६, मंगलबार    

बरिष्ठ गायक दीप श्रेष्ठ सम्मानित

२०८० श्रावण २७, शनिबार ०४:४२ बजे

काठमाण्डौ – प्रोगेसिभ एजुकेसनल फोरम चावहिलको आयोजनामा स्थापनाको सोह्रौँ वार्षिकोत्सवका अवसरमा फोरममा आवद्धता जनाएका दश संस्थागत विद्यालयहरुको संयुक्त कार्यक्रम गरि शुक्रवार राष्ट्रिय नाचघर जमलमा भव्य रुपमा मनाएको छ ।

कार्यक्रममा बरिष्ठ गायक दीप श्रेष्ठलाई १५ हजार नगद राशि सहित दोसल्ला ओढाएर अभिनन्दन-पत्र सहित सम्मानित गरिएको छ ।साथै उक्त अवसरमा फोरमभित्रका विद्यालयमा लामो समयदेखि अध्यापन गरेका शिक्षक/शिक्षिका तथा कार्यरत कर्मचारीहरूलाई दीर्घसेवा पदकले सम्मान गरिनुका साथै विद्यालयबाट एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई समेत सम्मान गरिएको छ ।

प्रोगेसिभ एजुकेसनल फोरमका अध्यक्ष कवि,साहित्यकार,महाकाव्यकार एवं ज्ञानद्वीप शिक्षा सदनकी प्राचार्य सीता भट्टराईको सभापतित्व तथा बलिष्ठ गायक दीप श्रेष्ठको प्रमुख आतिथ्यता तथा काठमाण्डौ महानगर पालिका शिक्षा बिभागका श्रोत व्यक्ति यमनाथ चौलागाईं को बिशेष आतिथ्यताका साथै गायन तथा नृत्य प्रतियोगिता अन्तर्गतका मुल्याङ्कनकर्ताका रुपमा रेखा कटुवाल श्रेष्ठ,सुशिला थापा,विपिन घिमिरे तथा शिला बिष्ट तथा सांस्कृतिक संस्थानकी अधिकृत पवित्रा पङ्गेनीका साथै काठमाण्डौ मेट्रो प्याब्सनका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ फोरमसंग आवद्धता जनाएका बिद्यालयका सञ्चालक समितिका अध्यक्षहरु लगायत शृंखला मासिकका सम्पादक प्रवीण जोशीको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको छ

प्रमुख अतिथि द्वारा पानसमा द्वीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो भने प्रोगेसिभ एजुकेसनल फोरमका उपाध्यक्ष मेहरबान सोनारद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको थियो । कार्यक्रममा महान सिद्धार्थ हाईस्कूलका बिद्यार्थीहरुले राष्ट्रीय गानका साथै स्वागत गीत प्रस्तुत गर्नुका साथै अनमोल ज्योति सेकेण्डरी स्कूलका बिद्यार्थी हरुद्वारा स्वागत नृत्य प्रस्तुत गरिएको थियो ।

फोरमसंग आवद्धता जनाएका दश बिद्यालयका बिद्यार्थीहरु द्वारा बिभिन्न जातजाती भेषभूषा र संस्कृति झल्कने नृत्यहरुको प्रतिस्पर्धाको आयोजना गरिएको उक्त कार्यक्रममा नृत्यतर्फ अनमोलज्योति प्रथम, मोक्षदा स्कूल द्वितीय, महान सिद्धार्थ तृतीय, र क्रमशः सेन्टलरेन्स तथा न्युमोनिक बिद्यालयले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । यसैगरि गायन तर्फ न्युमोनिक एकेडमी प्रथम, मिसन पब्लिक द्वितीय न्यूसनसाइन तृतीय तथा सेन्ट लरेन्सले सानत्वना पुरस्कार प्राप्त गरेका छन् । उक्त समयमा प्रोग्रेसिभ एजुकेसनल फोरम अन्तर्गतको न्युमोनिक बिद्यालयकी पुर्व बिद्यार्थी तथा नेपाल आईडल सिडन थ्रि का बिजेता सज्जा चौलागाईंले समेत आफ्नो प्रस्तुति दिएर कार्यक्रमलाई रोचकता प्रदान गरेकी थिइन् ।

उक्त अवशरमा काठमाण्डौ प्याब्सनका अध्यक्ष प्रेम राइद्वारा मन्तव्यका क्रममा रोजगारीका सन्दर्भमा निजी बिद्यालयहरुको तर्फबाट सायद सवैभन्दा बढी रोजगारीको प्रत्याभूति दिएको क्षेत्रको मुना निमोठ्ने काम हुन नहुने कुरामाा जोड दिंदै देशको समग्र शिक्षा क्षेत्रको करिव ३० प्रतिशत योगदान दिने निजी बिद्यालयलाई उपेक्षा गरिनु नहुने बताउदै कविता बाचन गरेका थिए । पुरूषोत्तम महर्जनबाट फोरमद्वारा आयोजित कार्यक्रममा बरिष्ठ गायक दीप श्रेष्ठलाई सम्मान गर्न पाउँदा अत्यंत खुशी लागेको बताउंदै बिजयी बिद्यार्थी हरुलाई शुभकामना व्यक्त गरेका छन् । भने शिक्षा तथा समन्वय एकाईका परीक्षा प्रमुख : फणिन्द्र घिमिरेद्वारा पनि शुभकामना मन्तव्य दिईएको थियो ।

अन्त्यमा सभापति सीता भट्टराईद्वारा प्रोगेसिभ एजुकेसनल फोरमले आफ्नो स्थापनाको सेह्रौं बार्षिकोत्सवलाई सभ्य र भव्य रुपमा सम्पन्न अहोरात्र खटेर सहयोग गर्ने ब्यवस्थापन समिति लगायात बिजेता बिद्यार्थी भााई बहिनीहरुको प्रशंसा गर्दै स्रष्टा सम्मानको पहिलो प्रयास स्वरूप बरिष्ठ गायक दीप श्रेष्ठलाई सम्मान गर्न पाउँदा खुशी ब्यक्त गरिएको थियो ।

करिव सात घण्टा निरंतर रुपमा संचालित सभ्य एवं भव्य उक्त कार्यक्रमको सहजकर्ताको भूमिकामा सचिव: लम्वोदर घिमिरे तथा भीमबहादुर शाहीद्वारा संयुक्त रुपमा संचालन गरिएको थियो ।