प्रहर खबर
 २०८१ बैशाख १५, शनिबार    

भुटनदेबीमा बिसासय पूजा

२०८० चैत्र १६, शुक्रबार ०७:३५ बजे

हेटौंडा – स्थानीय शक्तिपीठ भुटनदेवीमाता मन्दिरमा वार्षिक बिसासय पूजा (क्षमापूजा) शनिबार हुने भएको छ । हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरको व्यवस्थापन समितिले शनिबार क्षमापूजा तथा बलिपूजा गर्ने निर्णय गरेको हो ।

बिसासय पूजामा एक सय ८ वटा परेवा, एउटा कुखुरा, १५ वटा बोका, एउटा हाँस, एउटा राँगो, एउटा सुँगुर, एउटा पाठो गरी एक सय २८ वटा पशुबलि दिइन्छ । समस्त धर्मप्रेमी भक्तजनको सुखशान्ति र समृद्धिका लागि प्रत्येक वर्ष चैत महिनाको शनिबार विसासय (क्षमा) पूजा हुने गरेको भुटनदेवी मन्दिर व्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिका अध्यक्ष राममान श्रेष्ठले जानकारी दिए ।

हिन्दू धर्मावलम्बीको आस्थाकी देवी भुटनदेवी मातासहित देवी र गणदेवतालाई एकसय २८ वटा पशुको बलि दिइने गरेको उनले बताए । राणाकालमा चिसापानीगढीस्थित बडाहाकिमको कार्यालयले बिसासय पूजाको ब्यवस्थापन गर्ने गरेको थियो । पञ्चायती ब्यवस्थामा अञ्चलाधीश कार्यालयले बिसासय पूजाको लागि बजेट प्रबन्ध गर्ने गरेको स्थानीय जानकारहरु बताउँछन् । २०४६ सालको राजनीतिक परिबर्तनपछि केही समय बिसासय पूजा हुन छोडेको थियो । तर, २०५४ सालदेखि जिल्ला प्रशासन कार्यालयको संयोजनमा बिसासय पूजालाई निरन्तरता दिइएको थियो ।

भुटनदेवी मन्दिरमा गरिने क्षमापूजाले मकवानपुरमा मात्र नभई विश्वलाई नै शान्तिको सन्देश दिने मन्दिरका पण्डित पुरुषोत्तम धितालले जानकारी दिए । वर्षौंदेखि चल्दै आएको क्षमापूजामा हिन्दू र बौद्ध धर्मावलम्बी दुबैले पूजा गर्ने गरेका छन् । मन्दिर व्यवस्थापन समितिले क्षमापूजाका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको बताइएको छ ।