प्रहर खबर
 २०८१ बैशाख १८, मंगलबार    

चन्द्रागिरि-चित्लाङ सडक स्तरिकरण गर्न उत्तरी मकवानपुर एक जुट, प्रधानमन्त्रीसंग मागे बजेट

२०८० माघ ३, बुधबार १७:३८ बजे

काठमाडौं – हेटौंडाबाट काठमाडौं जाने छोटो दुरीको कुलेखानी, हुमाने, फाखेल र हुमाने मातातीर्थ हुँदै काठमाडौँको टेकु जोड्ने सडक स्तरोन्नति गर्न २ महिनाका लागि बन्द गरिएपछि बैकल्पिक मार्गको रुपमा चित्लाङ–चन्द्रगिरि सडक प्रयोग गरिरहेका छन् ।

साँघुरो, दुलाम्मे र कच्चि सडक हुँदै काठमाडौंबाट मकवानपुरको चित्लाङ घुम्न आएका ६ जना सवार कार गत शनिबार दिउँसो चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतोपहरामा दुर्घटना भएको थियो । दुर्घटनामा ५ जनाले ज्यान गुमाएपछि दुर्घटनाको कारण खराब सडक भएको भन्दै सरकारको चौर्फी विरोध भइरहेको छ ।

दुर्घटनामा काठमाडौं मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, लाजिम्पाटका डा. महेशकुमार गौतम, ४ वर्षीय प्रियान्स गौतम र ६ वर्षीया स्मारिका गौतमले ज्यान गुमाए । सडकको खाल्डोमा कार अड्किएपछि ओर्लेकी डा. सृष्टि तिवारी गौतम भने सकुशल रहिन् ।

उक्त सडक जति सक्दो चाडो सडक निर्माण र स्तरोन्नति गर्न मकवानपुरका जनप्रतिनिधि तथा सरोकारवाला ब्यक्तिहरु एक जुट भएर बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आवश्यक बजेट माग गरेका छन् । मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य महेश वर्तोलाको नेतृत्वमा पुगेको टोलीले चित्लाङ–चन्द्रगिरि सडक स्तरिकरणका लागि चालु आर्थिक बर्षमा १० करोड बजेट माग गरेका हुन् । त्यस्तै आगमी आर्थिक बर्षका लागि ४० करोड बराबरको श्रोत सुनिश्चीतता गराउन प्रधानमन्त्री ‘प्रचण्ड’लाई अनुरोध समेत गरेको सांसद वर्तौलाका स्वकीय आशिष अस्लामीले बताए ।

प्रधानमन्त्री प्रचण्डले आफुलाई चित्लाङ सडकको अवस्था र महत्वका विषयमा जानकारी रहेको बताउँदै सरकारले आवश्यक बजेट उपलब्ध गराउने प्रतिवद्धता दिएको वर्तौलाका स्वकीय अस्लामीले बताए । प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेट्न सांसद वर्तौला सहित माओवादी नेता रामनारायण विडारी, एमाले नेता सुभाष चन्द्र ठकुरी, नेपाली काँग्रेसका नेता जयराम लामिछाने, थाहा नगरपालिका प्रमुख बिष्णु बिष्ट, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, थाहा ९ का वडा अध्यक्ष राजकुमार बलामी, नेकपा एमाले थाहाका सचीव रामकृष्ण बस्नेत लगायतको टोली प्रधानमन्त्री कार्यालय पुगका थिए । 

चित्लाङ–चन्द्रगिरि सडक स्तरिकरणमा उत्तरी मकवानपुरका नेताहरुको यो पहिलो सामुहिक प्रयोस हो । यो प्रयासबाट चित्लाङ–चन्द्रगिरि सडक स्तरिकरणलाई सरकारले प्राथामिकतामा राखेर काम गर्नेमा प्रधानमन्त्री भेट्न पुगेका जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरुले विश्वास लिएका छन् ।